धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाकाबीच सीमा विवाद चर्किएको छ । खानेपानीको मुहानका विषयमा विवाद सुरु भएको हो ।
मोरङको केराबारी गाउँपालिका-२ जेफाले र धनकुटाको चौबिसे गाउँपालिका-८ को सिमानामा रहेको भालु खोलाको पानीको मुहानको विषयलाई लिएर सीमा विवाद उत्पन्न भएको हो । केराबारी गाउँपालिका फाइवा गाउँका स्थानीयले भालु खोलाको पानी २०५० सालदेखि पाइप मार्फत तानेर उपभोग गर्दै आएका थिए ।
पाइपका माध्यमबाट सिधै तानेर ल्याएको पानी २ सयभन्दा बढीले उपभोग गर्दै आएका छन् । २०७४ सालबाट भने सङ्घीय सरकारको सशर्त अनुदान र प्रदेश सरकारको लगानीमा व्यवस्थित रूपमा एक घर- एक धारा कार्यक्रम मार्फत केराबारी-२ फाइवाबासीले उपभोग गर्न थालेका छन् ।
२०७२ सालबाट सङ्घीय सरकारको सशर्त अनुदानमा प्रदेश सरकारले ५० लाख लगानीमा मोरङको केराबारी गाउँपालिका फाइवा गाउँमा सिंहदेवी २,३,४ र ५ खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना सुरु गरेको हो ।
सो आयोजना २०७४ सालबाट सुरू भएपछि केराबारीका स्थानीयले खानेपानी र सिँचाइको सुविधा पाउँदै आएका छन् । आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय सरकारले सिंहदेवी खानेपानी उपभोक्ता संस्थाको पानीको मुहानभन्दा केही माथिबाट लिफ्टिङ मार्फत पानी लाने आयोजनाका लागि बजेट विनियोजन गरेको छ ।

५ करोड रूपैयाँ विनियोजन भएको सो आयोजना सम्पन्न गर्न अल्ट्रा सीपी जेभीले ठेक्का पारेको छ । लिफ्टिङमार्फत भालु खोलाको पानी चौबिसेमा लैजाने गरी अहिले ठेक्का लागेपछि सीमा विवाद चर्किएको छ ।
केराबारीको क्षेत्रबाट पानी तानेर लगे तल्लो क्षेत्रमा हाहाकार हुने भन्दै फाइवाका स्थानीयले विरोध गरेका छन् । सिंहदेवी खानेपानी उपभोक्ता संस्था केराबारीका अध्यक्ष देवीलाल लिम्बूले चौबिसेमा पानी लैजाने गरीको अर्को आयोजना सुरु भएपछि पानीको हाहाकार हुने चिन्ता थपिएकाले विरोध गर्नु परेको बताए ।
उनले आफूहरूले उपभोग गर्दै आएको पानीको मुहानबाट चौबिसमा पानी गए केराबारी क्षेत्रमा पानीको हाहाकार हुने चिन्ता थपिएको बताए ।
लिम्बूले भने,’मुहानबाट पानी तानेर अन्यत्र लगेपछि पानी खान नपाइने हो की भन्ने चिन्ता थपिएको छ । सरकारले हेर्दै नहेरी बजेट विनियोजन गर्दा गाउँवासीका बिचमा विवाद सुरु भएको छ ।’
चौबिसमा खानेपानी आयोजना सुरु गर्न बजेट विनियोजन भएर ठेक्का लगाएपछि सिंहदेवी खानेपानी उपभोक्ता संस्थाले उच्च अदालतमा साउनमा रिट हालेको थियो । साउन ६ गते अल्पकालीन अन्तरिम आदेश दिएको अदालतले साउन २० गते सुनुवाइ गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने भनेको छ ।

देशबहादुर कार्की र पूर्णेश्वरप्रसाद उपाध्यायको इजलासको उत्प्रेषणयुक्त परमादेशमा पानीको मुहान भने केराबारी २ मा नै रहेको र आयोजनास्थल धनकुटामा रहेको उल्लेख छ ।
चौबिसे गाउँपालिकाका प्रमुख राजकुमार लिम्बूले पानीको मुहान धनकुटा जिल्लामा रहेको दाबी गरे । उनले पानीको मुहान धनकुटाको चौबिसे गाउँपालिका -८ मा रहेकाले खानेपानी आयोजना सुरू गर्न लागिएको बताए ।
उनले भने, अहिले पनि त्यो क्षेत्रमा मानिसहरू चौबिसेमा आएर मतदान गर्छन् । नागरिकता यहीबाट बनिरहेको छ त्यो जमिन कसरी केराबारीमा भयो ? लिम्बूले ३२ सालको नापीले आयोजना स्थल धनकुटामा परेकाले आयोजना सुरू गर्न लागिएको बताए ।
उनले सो खानेपानी आयोजना निर्माण सम्पन्न हुँदा ४ सय परिवार लाभान्वित हुन् बताए । केराबारी गाउँपालिकाले भने आयोजना स्थल मोरङमा पर्ने दाबी गरेको छ ।
यो समाचार नेपाल प्रेस ले छापेको छ