मोरङको राजनीतिक इतिहासमा २०४२ सालको राष्ट्रिय पञ्चायत निर्वाचन एउटा यस्तो अध्याय हो, जहाँ विचारभन्दा बढी फण्डा र सिद्धान्तभन्दा बढी स्टन्ट हाबी भएको थियो ।
तत्कालीन नेकपा (माले) भित्र एउटा गम्भीर बहस थियो– ‘पञ्चायतलाई बहिष्कार गर्ने कि उपयोग गर्ने ?’
२०३८ सालको चुनाव बहिष्कार गर्दा त्यसको खासै राजनीतिक प्रभाव नपरेपछि नेता मदन भण्डारीले एउटा साहसिक र रणनीतिक प्रस्ताव अघि सारे । त्यो थियो– पञ्चायतभित्रै पसेर पञ्चायतको मुटुमा प्रहार गर्ने ।
अर्थात्, पञ्चायती चुनावमा आफ्ना मान्छे उठाएर जनमत बटुल्ने र सदनभित्रैबाट व्यवस्थाको विरोध गर्ने ।
यही रणनीति अनुसार दुई जना निर्वाचित हुने मोरङको निर्वाचनका लागि जनपक्षीयतर्फबाट बमबहादुर खड्का उम्मेदवार बने । पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाका साथै बद्री मण्डल, उमेशजंग थापा लगायत उम्मेदवार थिए ।
चर्चामै नरहेका उमेशजंग थापालाई भित्रभित्रै पञ्चायत पक्षधरले चुनाव जिताउने र जनपक्षीय उम्मेदवार खड्कालाई हराउने योजना बनाएको थियो । त्यही रणनीति अनुसार क्रान्तिकारी छवि बनाएर एकाएक थापा बाहिर निस्किए । उमेशजंगमा एउटा विशेष प्रकारको करिश्मा थियो । उनी बोल्न सिपालु थिए र युवामाझ लोकप्रिय हुन सक्ने खुबी राख्थे, तर उनी त्यतिबेलासम्म राजनीतिक रूपमा खासै चिनिएका थिएनन् ।
उनलाई स्थापित गर्न केही रणनीतिक फण्डाहरू तयार पारियो । त्यसबेलाको चुनावी भिडन्तलाई लिएर आज पनि मोरङका चिया पसलहरूमा कथाजस्तै सुनाइन्छ ।
पुरानो पुस्ताका वामपन्थी नेता महेश रेग्मी, साहित्यकार भरत गुरागाईं र स्थानीय प्रत्यक्षदर्शीको संस्मरणमा त्यसबेलाको निर्वाचनमा रोचक र डरलाग्दा जुक्तिहरू अपनाइएको थियो ।
त्यसबेलाको चुनाव सम्झदै महेश रेग्मी भन्छन्, ‘उमेशजंगलाई स्थापित गर्न पञ्चायत पक्षधरले भारतबाट एउटा विशेष पोस्टर छापेर ल्याए, जसमा उनको एक हातको मुठ्ठी उठाएको थियो । त्यो पोस्टरले उनलाई रातारात पञ्चायत विरोधी विद्रोहीका रूपमा ब्रान्डिङ गरिदियो ।’
पोस्टरको सन्देश थियो– यो मान्छे पञ्चायतको नजरमा अपराधी हुन सक्छ, तर जनताको नजरमा वीर योद्धा हो ।
त्यतिमात्र होइन, विराटनगरको आदर्श स्कुलमा उमेशजंगलाई भाषणकै क्रममा पञ्चायत सरकारले लोकप्रिय बनाउने योजनाका साथ पक्राउ गरायो । भाषणका क्रममा उनले जब पञ्चायतका विरुद्ध आगो ओकल्न थाले, ठ्याक्कै त्यही समयमा पुलिसको गाडी त्यहाँ आइपुग्यो । उमेशजंगले झन् चर्को स्वरमा भने, ‘मलाई पक्रेर तिमीहरूले यो आन्दोलन दबाउन सक्दैनौ, म जेल जान तयार छु !’
प्रहरीले उनलाई समातेर लैजाँदा हजारौँ जनता रुँदै पुलिसको गाडी पछाडि दौडिएका थिए, जसले उनलाई एउटा मसिहाको छवि दियो । सो घटनाले सयौँ मानिस उनीतिरै आकिर्षत भएको रेग्मीको अनुभव छ ।
उमेशजंगको चुनावी लहर कतिसम्म उन्मादपूर्ण थियो भन्ने कुरा ग्रामथान–५ का जगदिश भगतको अनुभवले प्रस्ट पार्छ । भगत त्यसबेलाको त्यो रापिलो माहोल सम्झँदै भन्छन्, ‘त्यसबेला महान् क्रान्तिकारी भनेर जन्मिएका थिए उमेशजंग थापा । उनी आउँदा हामी सारा मानिस काम छोडेर हेर्न गएका थियौँ । के–के न गर्छ जस्तो भएको थियो । भाषण गर्दा राजा र जनताबिचको पर्खाल भत्काउने भन्दै आफ्नै नारी ब्लेडले चिरेर ‘यसरी पर्खाल भत्काउँछु’ भन्थ्यो । उनको त्यो साहस देखेर हामी सबैले विश्वास गर्यौँ ।’
भगतका अनुसार उमेशजंगले मञ्चमै आफ्नो शरीरबाट रगत बगाएर जनतालाई भावनात्मक रूपमा यतिसम्म बाँधेका थिए कि मानिसहरू उनलाई भगवान् नै ठान्न थालेका थिए ।
उमेशजंगले चुनाव चिह्न हलो बोकेर ठुलो जुलुस निकाल्थे । ‘मुसहर, बातर र सुकुमबासी बस्तीहरूबाट आएका हजारौँ मानिसले उमेशजंगलाई आफ्नो मुक्तिको दूत मानेका थिए,’ साहित्यकार भरत गुरागाईंले भने, ‘त्यतिखेर दलित मुसहर, बातरलाई साँच्चैको हलो बोकाएर हैरान काढेका थिए ।’
एकातिर उमेशजंग थापा ‘भावनात्मक स्टन्ट’ गरिरहेका थिए भने अर्कोतिर पञ्चायत पक्षका उम्मेदवार बद्री मण्डल र मण्डलका सहयोगी बनेका डा. हिरालाल शाहहरूले अर्कै जुक्ति लगाएका थिए । उनीहरूले सोझा गाउँलेलाई डराउन ‘क्याल्कुलेटर’ को प्रयोग गर्थे ।
‘पञ्चेहरूले हातमा क्याल्कुलेटर बोकेर गाउँ पस्थे र भन्थे, यो यस्तो मसिन हो, जसले तिमीहरूले भित्र कसलाई भोट हाल्यौ भन्ने सबै देखाइदिन्छ । यदि बद्री मण्डललाई भोट हालेनौ भने यो मसिनले तिम्रो नाम भन्छ र पछि तिमीलाई जेल हालिन्छ । प्रविधिको ज्ञान नभएका सोझा जनता त्यो साधारण क्याल्कुलेटरलाई नै जादुमय यन्त्र ठानेर डराउँथे र पञ्चेहरूलाई भोट हाल्न बाध्य हुन्थे,’ साहित्यकार भरत गुरागाईं (बर्बरिक)ले उतिबेलाको कुरा सुनाए ।
अन्ततः त्यो निर्वाचनमा बद्री मण्डल पहिलो भए भने उमेशजंग थापा दोस्रो भएर राष्ट्रिय पञ्चायतमा छिरे । तर, त्यसबेलाका ठुला हस्ती र पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला चौथो भए । जनपक्षीय उम्मेदवार खड्का तेस्रो भएका थिए ।
साहित्यकार गुरागाईं र नेता महेश रेग्मीको विश्लेषणमा उमेशजंग थापाले त्यसबेला सिर्जना गरेको ‘लहर’ वैचारिकभन्दा बढी भावनात्मक र स्टन्टमा आधारित थियो । रगत बगाउने, हतकडी देखाउने र चर्को भाषण गर्ने शैलीले चुनाव त जितायो तर त्यसले जनताको जीवनमा कुनै परिवर्तन ल्याउन सकेन ।
जगदिश भगत जस्ता प्रत्यक्षदर्शीहरूको भोगाइले आजको पुस्तालाई एउटै सन्देश दिन्छ– राजनीतिमा देखिने तात्कालिक लहर र चर्का फण्डाहरू सधैँ सत्य हुँदैनन् । हिजो उमेशजंगले नारी चिरेर देखाएको क्रान्तिपछि ओइलाएर गएजस्तै, आजको राजनीतिमा पनि सस्तो लोकप्रियताको पछि लाग्नुभन्दा विचार र निष्ठाको खोजी गर्नु नै बुद्धिमानी हुने रेग्मी बताउँछन् ।
‘उमेशजंग थापा मोरङको राजनीतिक इतिहासका एउटा यस्ता पात्र हुन्, जसले लोकरिझ्याइँमा कसरी काम गर्छ भन्ने कुरा २०४२ सालमै देखाइदिएका थिए,’ रेग्मीले भने, ‘भारतमा पोस्टर छाप्नेदेखि लिएर, योजनाबद्ध गिरफ्तारी गराउनेसम्मका घटनाहरूले उनलाई एउटा बिम्ब बनाएको थियो,’ रेग्मीले भने, ‘उमेशजंगको उदय जति रापिलो र तापिलो थियो, उनको राजनीतिक अवतरण त्यति नै सुखद् रहेन । चर्चा र स्टन्टले चुनाव जित्न सकिन्छ, तर इतिहासमा नाम लेखाउन विचार र निष्ठा नै चाहिन्छ ।’