सुधार गृह लैजान खोज्दा युवकले गरे प्रहरीमाथि चक्कु प्रहार, तीन जना घाइते


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुधार गृह लैजान खोज्दा विराटनगरमा एक युवकले प्रहरी र सुधारगृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका छन् ।

आइतबार अपराह्न विराटनगर महानगरपालिका–१, अनुकरण मार्ग बस्दै आएका २९ वर्षीय रुबिण कार्कीले दुई प्रहरी र एक जना सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गरेका हुन् ।

रामेछाप घर भई विराटनगर–१ स्थित मोहन भट्टराईको घरमा कोठा भाडामा बस्दै आएका २९ वर्षीय कार्कीलाई आइतबार दिउँसो साथीभाइ नेपाल नामक सुधार गृह काठमाडौं पठाउने तयारी भएको थियो ।

कार्कीले आफूलाई कोठाभित्र थुनेर आत्महत्याको प्रयास गरेपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेको सीआरभी भट्टाचोकको प्रहरी टोली र सुधार गृहका कर्मचारीले उनलाई सम्झाइ बुझाइ गरी कोठाबाट निकाल्न खोजेका थिए ।

तर, कार्कीले आफ्नो ओछ्यानमा लुकाएर राखेको चक्कु झिक्दै सीआरभी भट्टाचोकका प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र साथीभाइ नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटालाई चुक्क प्रहार गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार आक्रमणबाट तीनै जनाको टाउकोमा चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना गरिएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ । प्रहरीले चक्कु प्रहार गर्ने कार्कीलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।