पोखराकी पर्यटन व्यवसायी कमला गिरी प्रतिष्ठित एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छन् । उनलाई ‘महिला पर्यटन उद्यमी अवार्ड’ प्रदान गरिएको हो।
काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरीलाई अवार्ड प्रदान गरे। सिजन मिडियाले विभिन्न क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान पुर्याएका र उल्लेखनीय उपलब्धि हासिल गरेका व्यक्तिहरूलाई यो अवार्ड प्रदान गर्दै आएको छ।
छैटौँ संस्करणको कार्यक्रममा ७ विदेशी नागरिकसहित २९ जनालाई अवार्ड दिइएको थियो । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) पोखराको अध्यक्षका रूपमा गिरीले महिला पर्यटन व्यवसायीहरूलाई एकजुट गराउनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्।
साथै रोटरी क्लब पोखरा फिस्टेलकी अध्यक्ष र नाट्टा गण्डकीको निवर्तमान उपाध्यक्ष पनि हुन् गिरी । लामो समयदेखि ट्राभल व्यवसाय सञ्चालन गर्दै आएकी उनको लेकसाइडमा ह्वाइट कोरल स्पा एकेडेमी पनि छ ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा भएको यस कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, अभिनेत्री केकी अधिकारी लगायत विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरू पनि सम्मानित भएका थिए।