“सूचनाको अधिकार, लोकतन्त्रको आधार” भन्ने मूल नारासहित रोल्पामा राष्ट्रिय सूचना दिवस–२०८२ मंगलबार विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाको आयोजनामा सम्पन्न कार्यक्रममा सूचना अधिकारी, पत्रकार, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बासुदेव दाहालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उप–प्रमुख कर्मलाल परियारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम अन्तरक्रियात्मक ढंगले सञ्चालित गरिएको थियो।
प्रजिअ दाहालले सूचनाको अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकाय, सञ्चारमाध्यम र सर्वसाधारणबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले अझै पनि केही सरकारी निकायहरूमा सूचना सार्वजनिक गर्न हिच्किचाहट देखिने गरेको र यो प्रवृत्तिमा सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रमुख अतिथि उप–प्रमुख परियारले लोकतन्त्र बलियो बनाउन सूचनाको पहुँच नागरिकसम्म पु¥याउनु आवश्यक रहेको बताउँदै, “सूचनाबाट वञ्चित हुनु भनेको अधिकारबाट वञ्चित हुनु हो,” भन्नुभयो। उहाँले गाउँगाउँ र दुर्गम क्षेत्रसम्म प्रत्यक्ष सूचना प्रवाहको आवश्यकता औंल्याउँदै रेडियो तथा सञ्चारमाध्यम मात्रमा भर नपर्नुपर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघ रोल्पाका प्रतिनिधि खुविना सुनारी मगरले दुर्गम क्षेत्रहरूमा सूचना प्रवाह गर्न पत्रकारिता क्षेत्रले खेलेको भूमिका उल्लेख गर्दै अझै केही चुनौतीहरू विद्यमान रहेको बताउनुभयो। उहाँले नयाँ प्रविधि र विधिबाट सूचना प्रवाहलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सूचनाको हकसम्बन्धी कानुनी व्यवस्था, सूचना अधिकारीको उत्तरदायित्व, ग्रामीण क्षेत्रमा सूचनाको पहुँच अभिवृद्धि गर्ने उपायबारे गहन छलफल भएको थियो। सहभागीहरूले समयमै सूचना नपाउँदा जनताले भोग्नुपर्ने समस्याबारे आफ्ना अनुभवहरू साझा गरेका थिए।
कार्यक्रमको सहजीकरण जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी पदम डाँगीले गर्नुभएको थियो। उहाँले सूचनाको हक व्यवहारमा कार्यान्वयन गर्न सरकारी कार्यालयहरूले ठोस र व्यावहारिक कदम चाल्नुपर्नेमा जोड दिनुभयो।
सञ्चारकर्मी र सरकारी निकायबीच सहकार्य सुदृढ गर्दै सूचनाको पहुँच सबै नागरिकसम्म पुर्याउन राष्ट्रिय सूचना दिवस–२०८२ ले सकारात्मक संकेत दिएको सहभागीहरूको धारणा रहेको थियो।