षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार लम्जेललाई प्रदान


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसर पारेर धनकुटाका सक्रिय युवा पत्रकार हरिबहादुर लम्जेललाई यस वर्षको ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ । विराटनगरमा नेपाल पत्रकार महासंघ मोरङले महासंघको स्थापना दिवसका अवसरमा आयोजना गरेका कार्यक्रममा सूचना अधिकारको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका पत्रकार लम्जेललाई पुरस्कृत गरेको हो ।

 

लम्जेललाई नगद २५ हजार २५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको छ । करिव डेढ दशकदेखि जिल्ला तहमा रहेर पत्रकारिता गर्दै आएका लम्जेल नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव तथा अन्नपूर्ण पोस्टका धनकुटा जिल्ला समाचारदाता समेत हुन् ।स्थानीय तहदेखि राज्यका विभिन्न निकायसम्म सूचना माग र त्यसको उपयोगमार्फत निरन्तर रूपमा जवाफदेहिताको सवाल उठाउँदै आएका कारण पत्रकार लम्जेललाई यस वर्षको पुरस्कारका लागि छनोट गरिएको पत्रकार महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले जानकारी दिए ।

 

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले लम्जेललाई पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा बोल्दै मन्त्री पराजुलीले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको उल्लेख गरे । तथ्यमा आधारित, खोजमूलक र उत्तरदायी पत्रकारिताले मात्र समाजमा विश्वास र पारदर्शिता स्थापित गर्न सक्ने धारणा समेत मन्त्री पराजुलीले राखेका थिए ।

 

 

पुरस्कारका संस्थापक केदारबहादुर बस्नेतले पनि सूचना अधिकारको प्रयोगमार्फत नागरिक सशक्तीकरणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले स्थानीय तहदेखि केन्द्रसम्मका सार्वजनिक निकायलाई जिम्मेवार बनाउन खोजमूलक पत्रकारिता अझ बलियो हुनुपर्ने उल्लेख गरे । बस्नेतले सूचना लुकाउने प्रवृत्ति अझै कायम रहेको भन्दै त्यसविरुद्ध पत्रकारहरूले निरन्तर कलम चलाउनुपर्ने आवश्यकता औंल्याए ।

 

नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले सूचना अधिकारको क्षेत्रमा सक्रिय पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको जानकारी दिइन् । उनले आगामी दिनमा पुरस्कारको दायरा विस्तार गर्दै अझ बढी पत्रकारलाई प्रेरित गर्ने योजना रहेको पनि स्पष्ट पारिन् । 

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा, महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, अग्रज पत्रकार मोहन भण्डारी, महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देल, सहसचिव रेवती निरौलालगायतले पनि आफ्नो धारणा राखेका थिए ।

 

वक्ताहरुले प्रेस स्वतन्त्रताको अवस्था तथा व्यावसायिक पत्रकारितामा देखिएका चुनौतीहरूका साथै लोकतन्त्रको संस्थागत विकास बारेमा गम्भीर चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले प्रकाशन गरेको नयाँ वर्ष २०८३ सालको क्यालेन्डर पनि विमोचन गरिएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।