बाढीपछिको स्वास्थ्य जोखिम र व्यवस्थापन


शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 बाढी, पहिरो का कारण पानीका स्रोतहरू अत्यधिक प्रदूषित हुन्छन्। यसले झाडापखाला, हैजा, टाइफाइड, जन्डिस लगायतका सरुवा रोगहरू फैलाउँछ। वायु प्रदूषण र खानेपानीका मुहान दूषित हुँदा समस्या झनै बढ्छ। मानिसमात्र होइन, पशुचौपाया  पनि मृत्यु भएको छ। महामारी फैलन सक्छ। जनस्वास्थ्य सुरक्षा पहिलो नम्बर मा पर्छ तत्काल ध्यान केन्द्रित गर्नु पर्दछ।

 बाढीमा मानिस र पशुचौपाया मर्दा स्वास्थ्यमा थप जोखिम उत्पन्न हुन्छ। उचित व्यवस्थापन गर्न गाह्रो हुन्छ र समय लाग्छ। खानेकुरा तथा पानी प्रदूषित हुँदा समस्या क्रमशः बढ्दै जान्छ। दबदबे हिलो भएको ले उद्दार ढिलो हुन सक्छ।  बाढीपछि खानेपानीका स्रोत दूषित हुन्छन्, ढल निकास बिग्रिन्छ र शौचालयको समस्या आउँछ। फलस्वरूप पानी नै संक्रमित र ढल मिसेको हुन सक्

बाढीपछि सुरक्षित खानेपानीको व्यवस्था सबैभन्दा महत्वपूर्ण हुन्छ।  गाउँबस्ती र बजारमा यो पहिलो प्राथमिकताको विषय हो किनभने यो आधारभूत आवश्यकता हो। मृत शरीर को सम्मान त सुरक्षित व्यवस्थापन हुन पर्छ।

 घर पानीमा डुबेपछि सरसफाइको अवस्था नाजुक बन्छ। शौचालय पानीका स्रोतसँग मिल्दा संक्रमण फैलिन्छ। दिसा खुला ठाउँमा जाने र फोहोर जम्मा हुने जस्ता कारणले रोग बढ्छ। त्यसैले सरसफाइको उचित व्यवस्थापन अत्यावश्यक छ। व्यक्तिगत र समुदायको पनि ठूलो भूमिका खेलेको हुन्छ।

 यस्तो अवस्थामा स्वच्छता कायम राख्नुपर्छ। ज्यान सुरक्षित खानेपानी, शौचालय र स्वास्थ्य सेवा उपलब्ध गराउन विशेष ध्यान दिनुपर्छ। रोगका लक्षण देखिन थालेपछि तुरुन्त उपचार सुरु गर्नुपर्छ र स्वास्थ्य जोगाउने उपायबारे जानकारी दिनुपर्छ। यस्तो अवस्थामा स्थानीय तहमा जनस्वास्थ्य आपतकालिन योजना सक्रिय बनाउने काम गर्ने।

 बाढीपछि हरेक नागरिकले आफ्नो र परिवारको स्वास्थ्य जोगाउनुपर्छ। पानी तथा खानेकुरा सफा राख्ने, हात धुने, शौचालयको सही प्रयोग गर्ने जस्ता सावधानी अपनाउनुपर्छ। समयमै स्वास्थ्य परीक्षण गराउनु लाभदायक हुन्छ। बालबालिका महिला र वृद्ध, दीर्घरोगी लाई बिशेष गर्नु पर्छ।

 सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। 

- सुरक्षाकर्मीले उद्धार र राहत कार्य गर्छन्।  योद्धा जसले ज्यान को बाजी राख्छ।

- स्वास्थ्यकर्मीले जोखिम मोल्छ पहिचान, उपचार र सचेतनामा काम गर्छन्। 

- स्वयंसेवकले स्थानीय स्तरमा सहयोग पुर्‍याउँछन्। 

सबैको उद्देश्य सेवा ,सहयोग र धर्म हो।

 बाढीले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ। यो असर बाहिरबाट देखिँदैन तर गम्भीर हुन्छ।

प्रियजनको छुटाइ, घरवार गुमाउँदा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD), चिन्ता र डिप्रेसन हुन सक्छ। गाउँ बस्ती आफू जन्मेको हुर्केको ठाउँ कत्ति प्यारो हुन्छ। त्यत्तिकै जीवजन्तु नी प्यारा हुन्छन्। जनै पूर्णिमा को रात तर औंसीको कालो रात जस्तो हुन पुग्यो। सोच्ने सामर्थ्य नै भएन। न रह्यो गास।न बास।न आस। बगर भर लास नै लास

घर बग्नु आफ्नै आँखाले देख्नु सपना र विपना छुट्याउन सक्ने क्षमता नै छैन। सडक र पुल भत्किए। खाने पानीको मुहान लेदो ले प्रदुषित भयो। भयानक अवस्था जसले निन्द्रामा पनि ठूलो मात्रामा असर परेको हुन्छ।भोक नलाग्ने त्यही घटना बारम्बार दोहोरिने,डर, चिन्ता, शोक ले गर्दा भावनात्मक रूपमा विछिप्त अवस्था बनाएको हुन्छ।  जसको बारे लेख्न सायद नेपाली शब्द कोष मा शब्द नै छैन।उखानै छ रोग  भन्दा शोक खतरा हुन्छ।  मनोसामाजिक सहयोग चाहिन सक्छ।

 रोग फैलिनुअघि नै रोकथाम गर्नु उपचारभन्दा धेरै राम्रो हो। “Prevention is better than cure” भनेजस्तै रोकथामले समय, स्रोत र मेहनत बचाउँछ। रोग फैलिएपछि व्यवस्थापन गर्न गाह्रो हुन्छ।

 महिला, बालबालिका, वृद्ध, गर्भवती , दीर्घ रोगी जसलाई औषधि। छुटाउन हुन्न अपाङ्गता भएका व्यक्ति विशेष प्राथमिकता पर्ने समूह हुन्। संक्रमण को जोखिम धेरै हुन्छ ।उनीहरूलाई पोषणयुक्त खाना, सुरक्षित वातावरण र विशेष हेरचाह आवश्यक हुन्छ। यस समूहलाई प्राथमिकतामा राख्नुपर्छ।

 सही सूचना दिनु अत्यन्त जरुरी छ।  अन्योल मा भएको बेला झन् गलत सूचनाले मानिसलाई भ्रममा पार्छ र समस्या बढाउँछ। सही सूचना, सही पहिचान, राहत र उद्धार आवश्यक छ।

स्वास्थ्यकर्मीको भूमिका उपचारमा मात्र सीमित हुँदैन। रोग पहिचान, उपचार, सरसफाइ, चेतना, मानसिक स्वास्थ्य सेवा र परामर्श दिनु पनि उनीहरूको जिम्मेवारी हो।

 स्थानीय तह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकबीच राम्रो समन्वय हुनुपर्छ। सर्वसाधारणले पनि व्यक्तिगत र सामुदायिक स्तरमा जिम्मेवारी लिनुपर्छ।

 बाढीपछि कुनै पनि महामारी फैलिन नदिन स्वास्थ्य जोखिमप्रति विशेष सतर्क रहनुपर्छ।  वास्तविक स्वास्थ्य जोखिम ,डर बीच सन्तुलन राख्नु पर्छ।शौचालयको व्यवस्थापन, नाली खुला राख्ने, फोहोरबाट बच्ने र लक्षण देखिनासाथ तुरुन्त उपचार गर्ने कार्य गर्नुपर्छ। राहत सामग्री, औषधि र खानेकुरा वितरणमा ध्यान दिनुपर्छ।

 सबैभन्दा महत्वपूर्ण सन्देश के हो भने पानीलाई सधैं सफा राखेर स्वास्थ्य जोखिमबाट जोगिनुपर्छ। यो पहिलो प्राथमिकता हो।  कति राहत ,कहाँ कसरी कसले के के गर्ने भनेर सबै सबै तहबाट आवश्यक सहयोग, सचेतना, सतर्कता र समयमै व्यवस्थापन गर्नुपर्छ।

 सबै तहको भूमिका

बाढीपछिको स्वास्थ्य व्यवस्थापन एक्लै कसैले गर्न सक्ने काम होइन। यसका लागि व्यक्ति, समुदाय, स्थानीय तह, जिल्ला/प्रदेश, राष्ट्रिय सरकार र अन्तर्राष्ट्रिय निकाय सबैको समन्वयात्मक भूमिका आवश्यक पर्छ।

व्यक्तिगत तह मा प्रत्येक नागरिकले आफ्नो खानेपानी उमालेर, हात धुने बानी अपनाएर, शौचालयको सही प्रयोग गरेर र लक्षण देखिनासाथ स्वास्थ्य परीक्षण गराएर आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सक्छ।

समुदाय/स्थानीय तह मा सामुदायिक पानीका मुहानहरूको शुद्धीकरण, सरसफाइ अभियान सञ्चालन, स्वास्थ्य शिविरको आयोजना, घरदैलोमा सचेतना फैलाउने, सामुदायिक उद्धार, मृत शवको सम्मानजनक व्यवस्थापन, र सामुदायिक मानसिक स्वास्थ्य सहयोग केन्द्रहरू स्थापना गर्नुपर्छ। साथै, सामुदायिक रेडियो र माइकिङमार्फत सही सूचना प्रवाह गर्नु पनि यही तहको जिम्मेवारी हो।

जिल्ला/प्रदेश तह ले औषधि, क्लोरिन ट्याब्लेट, ओआरएस, भ्याक्सिनको पर्याप्त व्यवस्था गर्नुका साथै महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली, प्रयोगशाला सेवा र आपतकालीन खोप अभियान सञ्चालन गर्नुपर्छ। साथै, ट्याङ्करमार्फत सुरक्षित पानीको आपूर्ति, क्षतिको तथ्यांक संकलन, र सबै निकायबीच समन्वय गर्ने जिम्मेवारी पनि यही तहको हो।

राष्ट्रिय/केन्द्रीय तह ले बाढीपछिको दीर्घकालीन स्वास्थ्य नीति, बजेट विनियोजन, राष्ट्रिय स्वास्थ्य आपतकालीन केन्द्रको २४/७ सञ्चालन, महामारी निगरानी प्रणाली सक्रिय, र संवेदनशील समूहका लागि विशेष कार्यक्रम निर्माण गर्नुपर्छ। त्यस्तै, अन्तर्राष्ट्रिय सहायता परिचालन र स्वास्थ्य पूर्वाधारको पुनर्निर्माणमा राष्ट्रिय सरकारको प्रमुख भूमिका हुन्छ।

अन्तर्राष्ट्रिय तह बाट विश्व स्वास्थ्य संगठन (WHO), रेडक्रस, संयुक्त राष्ट्र संघीय निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले विशेषज्ञ टोली, आपतकालीन कोष, उत्कृष्ट अभ्यासहरूको आदानप्रदान, र क्षमता विकास तालिममार्फत महत्त्वपूर्ण सहयोग गर्न सक्छन्। सबै तहबीचको सूचना आदानप्रदान र सहकार्यले मात्र बाढीपछिको स्वास्थ्य संकटलाई प्रभावकारी रूपमा सामना गर्न सकिन्छ।

पानीको दीर्घकालीन गुणस्तर, सरसफाइ र स्वच्छता

 बाढी पछिसमेत पानीका मुहान, इनार, धारा, र जमिनको पानीको स्तर र प्रदूषणको नियमित प्रयोगशाला परीक्षण गरिरहनु अनिवार्य छ। यसैगरी, स्थायी शौचालय, ढल निकास, नाली प्रणाली र फोहोर व्यवस्थापनको दीर्घकालीन पूर्वाधार निर्माण गरी खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई निरन्तरता दिनुपर्छ। सामुदायिक पानी व्यवस्थापन समितिहरू र सरसफाइ अभियानमा महिला समूह, युवा क्लब र स्थानीय स्वयंसेवकहरूको सक्रिय सहभागिता निकै आवश्यक छ

 विशेष हेरचाह

बालबालिकाहरू झाडापखाला, निमोनिया र कुपोषणको उच्च जोखिममा हुन्छन्, त्यसैले उनीहरूलाई सफा पानी, पोषणयुक्त खाना र नियमित खोप उपलब्ध गराउनु आवश्यक छ। साथै, उनीहरूको मानसिक आघात, डर र चिन्तालाई कम गर्न खेल, मनोरञ्जन, पढाइ र सामान्य दिनचर्याको व्यवस्था गर्नुपर्छ।

व्यवस्था अत्यन्त जरुरी छ, साथै नवजात शिशुको स्वास्थ्य र खोपको पनि विशेष ध्यान दिनुपर्छ।

दीर्घ रोगीहरू (मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, क्यान्सर) लाई उनीहरूको नियमित औषधि निरन्तर रूपमा उपलब्ध गराउनु  हो। साथै, डायलाइसिस, रक्त परीक्षण, विशेषज्ञ परामर्श र अत्यावश्यक उपचारको व्यवस्था पनि स्वास्थ्यकर्मी र सम्बन्धित निकायले गर्नुपर्छ

अपाङ्गता भएका व्यक्तिहरू का लागि  राहत, आश्रय, स्वास्थ्य सेवामा सहज पहुँच, आवश्यक सहायक उपकरण , शौचालय व्यवस्था गरिनुपर्छ।

खोप, औषधि र चिकित्सा सेवा

बाढीपछि महामारीको सम्भावना उच्च हुने हुँदा हैजा, टाइफाइड, हेपाटाइटिस 'ए' विरुद्धको आपतकालीन खोप अभियान सञ्चालन गर्नु अत्यावश्यक हुन्छ। साथै, बालबालिकाका नियमित खोप (दादुरा, रुबेला, पोलियो, डिटिपी) निरन्तरता दिनुपर्छ। आपतकालीन औषधि, जीवनरक्षक औषधि, ओआरएस, ज्वरोको औषधि, एन्टिबायोटिकको पर्याप्त स्टक सबै स्वास्थ्य चौकी, अस्पताल र राहत शिविरमा उपलब्ध गराउनुपर्छ। त्यस्तै, प्रयोगशाला रगत परीक्षण, एक्स-रे, अल्ट्रासाउन्ड, एम्बुलेन्स, रिफ्रिजरेटर (भ्याक्सिनको लागि), जेनेरेटर र आइसोलेसन कक्षको व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्छ। औषधिको गुणस्तर, म्याद र भण्डारणको नियमित अनुगमन गर्नु स्वास्थ्यकर्मीको अर्को महत्त्वपूर्ण जिम्मेवारी हो।

 मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग

बाढीले सिर्जना गर्ने मानसिक आघात शारीरिक रोगभन्दा कम खतरनाक होइन। यी समस्याहरू बाहिरबाट देखिँदैनन् तर विकराल हुन्छन्,  आश्रयस्थल, शिविर र समुदायमा मनोसामाजिक परामर्श केन्द्र स्थापना गर्नुपर्छ। मानसिक स्वास्थ्यका लागि मनोचिकित्सक र प्रशिक्षित स्वयंसेवकहरूले समूह छलफल, कला–सांगीतिक कार्यक्रम, ध्यान, सामूहिक मनोरञ्जन र व्यक्तिगत परामर्शमार्फत पीडितलाई सामान्य जीवनमा फर्काउन सहयोग गर्नुपर्छ। साथै, यौन तथा लैङ्गिक हिंसाबाट महिला र बालिकाहरूको सुरक्षाका लागि २४/७ हेल्पलाइन, सुरक्षित स्थान, र कानुनी तथा मनोसामाजिक सहायता सेवा पनि अनिवार्य रूपमा सञ्चालन गर्नुपर्छ,

 पशुधन, मृत शव र वातावरणीय स्वच्छता

बाढीले पशुचौपायाको पनि ठूलो क्षति गर्छ, जसले गर्दा पशुबाट मानिसमा सर्ने रोग (जुनोटिक) को जोखिम बढ्छ। मृत पशुको सुरक्षित विसर्जन, जीवित पशुको आहार,  दुग्ध, मासु र अण्डाको सुरक्षा तथा गुणस्तरको पनि नियमित अनुगमन हुनुपर्छ। यसैगरी, मृत मानव शवको पहिचान, कानुनी दस्तावेजीकरण र सम्मानजनक, सांस्कृतिक/धार्मिक रीतिअनुसार अन्त्येष्टिको प्रबन्ध मिलाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

 

 आश्रयस्थल

शौचालय, खानेपानी, प्रकाश, र सञ्चारको सुविधा हुनुपर्छ। त्यहाँ २४/७ प्राथमिक स्वास्थ्य सेवा, एम्बुलेन्स र औषधिको पहुँच हुनु अनिवार्य छ। राहत वितरण गर्दा पारदर्शिता, न्यायिकता र संवेदनशीलता अपनाउनुपर्छ। प्रभावित परिवारको सूची, उनीहरूको वास्तविक आवश्यकता र राहत पहुँचको नियमित अनुगमन गर्नुपर्छ, र कुनै पनि खालको भ्रष्टाचार, पक्षपात, वा अफवाहले मानिसहरूलाई थप पीडा नदिन होसियारी अपनाउनुपर्छ।

 

 दीर्घकालीन

बाढीको तत्कालीन उद्धार र राहत मात्र पर्याप्त हुँदैन; दीर्घकालीन दृष्टिकोणले स्वास्थ्य संस्था, अस्पताल, स्वास्थ्य चौकी, प्रयोगशाला, पानी र सरसफाइका पूर्वाधारहरूको पुनर्निर्माण गर्नुपर्छ। स्वास्थ्यकर्मीहरूको क्षमता विकास, स्थानीय स्वास्थ्य प्रणाली सुदृढीकरण, र बाढीपछि देखिने दीर्घकालीन मानसिक, पोषण र पानीजन्य स्वास्थ्य प्रभावको अनुगमन र अध्ययन गरिरहनु आवश्यक छ।  स्थानीय स्वास्थ्य स्वयंसेवक, महिला समूह, युवा क्लबहरूको सुदृढीकरण गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य लागि सामुदायिक क्षमता अभिवृद्धि गर्नु नै साँच्चिको दीगो समाधान हो

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई suchanakohak753@gmail.com मा पठाउनु होला । धन्यवाद ।